Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

पत्रकार असुरक्षित हुनुमा मिडियाहाउस जिम्मेवार

पत्रकार असुरक्षित हुनुमा मिडियाहाउस जिम्मेवार

 श्यामसुन्दर यादव
नेपालमा भएका हरेक राजनीतिक परिवर्तनहरुमा सक्रिय भूमिका निभाएका पत्रकारहरुमाथि आक्रमण तथा धम्कीका घटनाहरु रोकिएको छैन । समाचार लेखेकै कारण धम्की तथा आक्रमण हुँदैआएकोमा यतिबेला भने समाचार नलेखेका कारण पत्रकारहरु पीडित भइरहेका छन् । विगत केही समययता मधेशमा जारी आन्दोलनका समाचारहरुलाई उचित स्थान नदिएको भन्दै आन्दोलनकारी पक्षबाट पत्रकारहरु पीडित भइरहेका छन् । खासगरी राजधानी काठमाण्डौबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिका, अनलाइन तथा टेलिभिजनहरुले मधेशका समाचारहरुलाई प्राथमिकता नदिएको तथा समाचार तोडमरोड गरी एकपक्षीय ढङ्गले प्रस्तुत गर्ने गरेको भन्दै आक्रोश अभिव्यक्त भइरहेका छन् ।
राष्ट्रिय सञ्चारमाध्यमहरुको प्रस्तुती शैलीका कारण आन्दोलनरत पक्षहरुबाट जिल्ला स्थित सम्वाददाताहरु अपमानित हुनुपर्ने अवस्था सिर्जना भएको छ । आन्दोलनरत पक्षको आक्रोश खेप्न बाध्य छन् पत्रकारहरु । आन्दोलनकै क्रममा मधेशका जिल्लाहरुमा पत्रकारहरुमाथि सांघातिक हमलाहरु भइरहेका छन् भने धम्कीहरु आउने क्रमले तिब्रता पाएको छ ।
आफूहरुको समाचारलाई प्राथमिकता नदिएको भन्दै बेलाबखत आन्दोलनकारीहरुले राष्ट्रिय दैनिक अखबारहरु कब्जामा लिएर जलाउँदैआएका पनि छन् । राष्ट्रिय सञ्चारमाध्यमहरुले मधेशको स्वरलाई बेवास्ता गर्दै गएपछि यदाकदा पत्रिका वितरण गर्नका लागि गइरहेको भ्यानलाई नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी गरेको घटना कसैबाट लुकेको छैन । समाचार नछापेकोमा असन्तुष्ट बनेका आन्दोलनकारीहरुले राष्ट्रिय पत्रिकाहरु मधेशका जिल्लाहरुमा आगो लगाएर जलाइनु नौलो होइन । जनआन्दोलनमा समेत मधेशको समाचारलाई प्राथमिकता नदिएको भन्दै जलाइने गरिन्थ्यो । उक्त क्रम हालसम्म पनि रोकिएको छैन । हुनत सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुमाथि आक्रमण हुनुलाई राम्रा कदापि भन्न मिल्दैन ।
राष्ट्रिय दैनिकहरुको अत्यधिक पाठक पनि मधेशमै छ । मधेशका जनताले पत्रिका खरिद गरेर पत्रिकालाई सहयोग पु¥याउँदैआएको छ । हुनत मोफसलमा पनि स्तरीय पत्रिकाहरु प्रकाशन हुँदैआएको छ तर मधेशका बुद्धिजिवी, राजनीतिक व्यक्तित्व, पेशाकर्मी, युवा, व्यवसायीको पहिलो रोजाई राष्ट्रिय दैनिक नै हुने गर्दछ । विहान उठ्ने वित्तिकै चियाको चुस्कीसँगै मोफसलका अखबारहरुभन्दा राष्ट्रिय दैनिकका मुख्य शिर्षक तथा डेटलाइन हेर्छन् । मधेशको समाचार कहाँ छ ? मधेशमा कहाँ के भएको छ ? त्यसपछि अन्य राष्ट्रिय तथा मोफसलका समाचार हेर्छन् । तर एकपटक अखबारको पाना फर्रफर्र पल्टाएर हेर्छन् । कतै केही नदेखेपछि मनैदेखि आक्रोशित हुनु स्वाभाविक हो । किनभने ऊ एउटा नियमित ग्राहक हो, उसले आफ्नो कमाइको केही अंश पत्रिकामा खर्च गरेको हुन्छ । भनिन्छ एकतर्फी मायाले हुँदैन, दुईतर्फी मन मिल्नु पर्दछ । हो, त्यसरी नै मधेशले राष्ट्रिय अखबारहरुमाथि ठूलो आश गर्दैआएका छन् । मधेशका सरकारी कार्यालय तथा व्यवसायिक विज्ञापनहरु तिनै राष्ट्रिय मिडियाहरुले पाएको छ । जसले गर्दा मोफसलका अखबारहरु दिनानुदिन खिइँदै गएको छ ।
यतिबेला अधिकांश नेताहरुले राष्ट्रिय सञ्चारमाध्यम र त्यसका सम्वाददाताहरुको आलोचनामै सिध्याउने गरेका छन् । नेताहरुले चर्को स्वरमा आलोचना गरिरहँदा छेउँमै समाचार संकलन गरिरहेका जिल्ला सम्वाददातारुलाई कस्तो अनुभूती हुँदो होला ? शब्दमा भन्न साध्य छैन । बिचरा सम्वाददाताहरुको के दोष ? सम्वाददाताहरुले त समाचार पठाएका हुन्छन् । तर डेस्कमा काम गर्ने सम्पादकहरुले उसका समाचारलाई समुचित स्थान दिँदैन । कहिलेकाही दिए पनि आफ्नो अनुकुल बनाएर हाल्छन् कि त एकदमै सानो । टाउँको र पुच्छर काटिएर आएका समाचारहरुको हवाला दिएर चित्त बुझाउनु बाहेक अर्को विकल्प नै हुँदैन सम्वाददाताहरुसँग ।
दिनभरी चहारेर पठाएका समाचारहरु प्रकाशन–प्रशारण नहुँदा मन कति दुख्दो होला भन्ने कुरा सम्वाददातालाई नै थाहा होला । किनभने समाचार संकलनका क्रममा उसले धेरै जनासँग भेटेका हुन्छन्, बुझेका हुन्छन्, सम्वन्धित समाचार श्रोतको विषयमा बाइट लिएका हुन्छन्, कुराकानी गरेका हुन्छन् । सम्वन्धित श्रोतहरुले पनि आश गरेका हुन्छन् तर समाचारै नआउँदा कस्तो अनुभुती हुँदो होला । ती श्रोतहरुले समाचारको विषयमा सोध्दा कसरी जवाफ दिँदो होला सम्वाददाताहरुले ? किनभने मोफसलमा पत्रकारिता गर्नुपर्छ त्यही समुदायका बीच । दिनभरीको मेहनत सेकण्डमै फाल्नेले त फालिदिन्छ । यतिमात्र होइन, मधेशी र थारुहरुको चाडपर्व, संस्कृति, भेषभुषा, नाचगान आदिको विषयमा त राष्ट्रिय सञ्चारमाध्यमहरुले खासै महत्व नदिएको जगजाहेर छ । अधिकांस मिडियाहरुको यो शैलीले गर्दा अपनत्वबोधको अनुभूती गर्न सकेको छैन । सम्वाददाताहरुले पठाए पनि त्यस्ता समाचारहरु सञ्चारमाध्यमका लागि प्राथमिकतामा पर्दैन ।
पत्रकारिता सम्मानजनक पेशाको रुपमा रहे पनि चुनौती त्यति नै रहेको छ । आफू अनुकुलको समाचार प्रकाशन तथा प्रशारण नभएको निहुँमा अझैं पनि पत्रकारहरुले धम्की तथा आक्रमणको तारो बन्ने गरेको छ । राष्ट्रको चौथो अङ्गको रुपमा मौखिक मान्यता पाएका सञ्चारकर्मीहरु अझैं शान्तिपूर्ण वातावरणमा समाचार संकलन तथा प्रकाशन–प्रशारण गर्ने माहोल पाउन नसकेको कुरा सत्य हो तर यतिबेला काठमाण्डौबाट सञ्चालित मिडियाहरु समेत तीन दलले बोल्ने गरेको भाषा मात्र बोल्ने गरेका छन् । जसले गर्दा एकतर्फी रुपमा सूचना तथा बिचार प्रवाह गर्ने मिडियाहरुप्रति आम मधेशी जनसमुदायको विश्वास घट्दै गएको छ । खासगरी टेलिभिजनहरुमा पनि मानवअधिकारकर्मी, बुद्धिजिवी, पत्रकार, विष्लेशक, नागरिक समाजका अगुवा भनाउँदाहरुले पनि प्रष्ट सही कुरा बोलिरहेका छैनन् । मिडियाहरु समेत पूर्वाग्रही रुपमा आफूलाई उभ्याउन थालेपछि     विश्वनियता घट्दै गएको छ । यतिमात्र होइन, टेलिभिजनहरुको प्रस्तुती शैलीले गर्दा मधेशका दर्शकहरु दाँत किटकिटाएर बस्नुपर्ने बाध्यता रहेको कुरा मधेशका आम बुद्धिजिवीहरुले चर्चा गर्न थालिसकेका छन् ।
राष्ट्रिय सञ्चारमाध्यम समावेशी बन्नुपर्ने कुराहरु पटक–पटक बहसमा आए पनि हालसम्म सञ्चारमाध्यमहरु समावेशी बन्न सकेको छैन । यसको मुख्य कारण के हो भने मधेशी, आदिवासी, दलित, जनजाती लगायत शोषित उत्पीडित जनताको उपस्थिति मिडिया हाउसहरुमा नहुनु । एक–आध मधेशी–थारु समुदायका व्यक्तिहरु रहे पनि निर्णायक भूमिकामा भने राखिएको छैन । जसरी राज्यपक्षले मधेशी समुदायलाई व्यवहार गरिरहेका छन् त्यसरी मिडिया हाउसहरुले पनि व्यवहार देखाइरहेका छन् । ‘जो होचो उसकै मुखमा घोंचो’ भन्ने नेपाली उखान झैं वर्तमान आन्दोलनमा राज्यपक्षलाई पृष्ठपोषण गरी आन्दोलनरत पक्षका वास्तविक कुरालाई नकारात्मक रुपमा मसला बनाएर प्रस्तुत गरिरहेका छन् । मिडियाले गर्ने यस्तो व्यवहारलाई कदापि जायज भन्न मिल्दैन ।
‘सही कुरा लेख्नुपर्छ, बोल्नुपर्छ’ यदि यस्तो गरिएन भने स्वाभाविक रुपमा त्यस्ता मिडियालाई निष्पक्ष भन्न मिल्दैन । देशको झण्डै आधा भू–भाग विगत एक महिनादेखि ठप्प रहेको छ । सुरक्षा बाहेक सरकारका सम्पूर्ण संयन्त्र फेल भइसकेको छ । मधेशका जिल्लाहरुमा कफ्यू, दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना समेत परिचालन भएको छ । आन्दोलनका क्रममा हालसम्म करिब चार दर्जनले ज्यान गुमाइसकेका छन् । मारिएका अधिकांश व्यक्तिहरुको टाउँको तथा छातीमा गोली हानिएको छ ।
संविधान निर्माण जस्तो महत्वपूर्ण घडी रक्तपातको ताण्डव मच्चाएर देशलाई झन् भयावह अवस्थातर्फ लगिँदैछ । एकतर्फ मधेशमा रोदन क्रन्दन छ, लासको चाङ्ग लागेको छ यस्तो अवस्थामा मधेशी जनताको लासलाई कुल्चेर संविधान जारी कति जायज छ ? मधेशी पनि यही देशको नागरिक हुन् भने आखिर विभेदपूर्ण व्यवहार किन ? राज्यपक्षलाई सरकारी सञ्चारमाध्यमहरुले पृष्ठपोषण गर्नु उसको प्रमुख जिम्मेवारी भएको इतिहास छ । तर निजी स्तरमा सञ्चालित मिडियाहरुले समेत एकपक्षीय समाचार पस्किनुले आक्रोसलाई बढाउने काम गरेको छ । मधेशबाट पठाएका समाचारलाई सञ्चारमाध्यमहरुले आफ्नै ढङ्गबाट व्याख्या गरी प्रस्तुत गरिनुले पनि सम्वाददाताहरु जोेखिममा परेका छन् । केही बाहेकका सञ्चारमाध्यमहरुले अझैं मधेशको पीडा, रोदन र क्रन्दन बुझ्न सकेको छै्रन ।
दिनहुँजसो मधेशी जनता मार्ने क्रम जारी रहँदा पनि मिडियाले वास्ता नगर्नुलाइ कदापि जायज भन्न मिल्दैन । गलतलाई गलत र सहीलाई सही भन्ने आँट गर्नै पर्दछ मिडियाहरुले । सेना पुलिस परिचालन गरी मधेशी जनतामाथि दमन गरेर जबरजस्ती संविधान लाद्ने काम भईरहँदा पनि मिडियाहरुले राज्यपक्षलाई दिशानिर्देश गर्नुको साटो राज्यपक्षकै शैलीलाई अघोषित रुपमा समर्थन गर्नुलाई उचित भन्न मिल्दैन । यद्यपी विविधखाले चुनौतीहरुका बावजुद पनि केही राष्ट्रिय दैनिक तथा अनलाइनहरुले सत्यतथ्य समाचार, बिचार तथा सम्पादकीय लेखेर केही हदसम्म भएपनि शोषित उत्पीडित जनताको दुःखेको घाउमा मलम लगाउने काम गरेको छ । आफ्नो जिम्मेवारी र दायित्वलाई दृढतापूर्वक प्रस्तुत गरेका कारण शासक मानसिकताबाट ग्रसित भएकाहरुको आलोचना समेत खेप्नुपरेको छ । यता मधेशमा समेत युवा पीढीका पत्रकारहरुले सञ्चालन गरेको अनलाइनहरुले सत्यतथ्य कुरा ल्याउने प्रयास गरेका छन् । स्थानीय स्तरमा सञ्चालित एफएम तथा पत्रिकाहरुले मधेशी जनताका बीच सत्यतथ्य समाचारहरुले प्राथमिकता साथ प्रशारण तथा प्रकाशन गरेर जनपक्षीय पत्रकारितालाई अगाडि बढाएको छ । अधिकांश राष्ट्रिय मिडियाहरु पूर्वाग्रही रुपमा प्रस्तुत भइरहको आलोचनाका बीच मोफसलका मिडियाहरुले देखाएको निष्पक्षता प्रशंसनीय छ ।
यस्तै फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालहरुमार्फत सत्यतथ्य कुरा सार्वजनिक हुने गरेको छ । त्यो काम पत्रकारहरुले मात्र नभई सर्वसाधारण  जनताले तुरुन्तै मोबाइलमा फोटो तथा भिडिओ खिंचेर सार्वजनिक गर्ने गरेका छन् । जसले गर्दा केही हदसम्म सत्यतथ्य कुरा आम जनतासमक्ष पुग्ने गरेको छ । यदी सामाजिक सञ्जालहरु नभई दिएको भए शायद सत्यतथ्य सूचनाबाट आम जनता अनभिज्ञ हुन्थे । मधेशको शालिनतापूर्ण बोलीलाई मिडियाहरुले उपेक्षा गर्ने गरिएकोले  यसको विकल्पको खोजी हुनु जरुरी छ । मधेशमा भर्खर–भर्खर मौलाउँदै गएको मिडिया तथा त्यसमा काम गर्ने पत्रकारहरुमाथि वर्तमान सरकारले दमनात्मक शैली अख्तियार गरेको छ । यसको ज्वलन्त नमूनाको रुपमा पछिल्लो समय बीरगञ्ज, रौतहट लगायतका ठाउँहरुमा मधेशी पत्रकारहरुलाई धरपक्कड गर्न थालिसकिएको छ ।
आफूलाई राष्ट्रिय सञ्चारमाध्यम कहलाउने सञ्चारमाध्यमहरुले कमसेकम आग्रह–पूर्वाग्रहबाट दुर रहेर सत्यतथ्य सूचना प्रवाह गर्नु आवश्यक छ । स्थानीय सम्वाददाताहरुले पठाएका समाचारहरुलाई बेवास्ता नगरी समुचित स्थान दिएर मिडिया हाउसले आफ्नो दायित्व निर्वाह गर्नु जरुरी छ । अहिले मधेशलगायत देशका विभिन्न भागमा पत्रकारहरुमाथि साँघातिक हमला, धम्की आउने क्रमले जोखिम बढेकोले त्यसलाई कम गर्न सञ्चारमाध्यमहरुले समावेशी चरित्र देखाउनु जरुरी छ ।                                  shyamnews111@gmail.com
(लेखक सप्तरीबाट प्रकाशित न्यूज टुडे दैनिकको सम्पादक हुन् )

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *