• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आश्विन १४, २०७२- अघि पछिभन्दा बुधवार गर्मीको पारो निकै चढ्यो । बिहानैदेखि चर्केको घामबाट जोगिन छाताको सहारा लिनुपर्‍यो । त्यो पनि मंगलपुरस्थित ज्ञानेश्वर सामुदायिक वन छेउको नारायणी किनारमा । किनारको एक छेउमा निर्देशक, लेखक एवं निर्माता विकास आचार्य टोलाएर बसिरहेका थिए । अर्को छेउमा नृत्य निर्देशक कविराज गहतराज, पउल शाह र आँचल शर्मालाई नचाउँदै थिए ।

विकासराज आचार्य फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘नाइँ नभन्नू ल ४’ को युनिट गर्मी सहँदै सुटिङमा व्यस्त देखिन्थ्यो । अभिनय गराउने जिम्मेवारी केही दिन पर पुगेपछि फिल्मका आचार्य फुर्सदिलाजस्ता देखिन्थे । नृत्य गराउने जिम्मेवारी पाएका गहतराज भने पसिना पुछ्दै पउल र आँचललाई घरी एक्लै त घरी जोडी बाँधेर नचाइरहेका थिए । दुइटा गीतको सुटिङ गर्नु थियो ।

गायक सुगम पोखरेल र गायिका इन्दिरा जोशीले गाएको ‘चिसो चिसो मौसमलाई तातो बनाउँm कि…’ गीतमा पउल र आँचल नाच्न व्यस्त थिए । गर्मीले गर्दा दुवै आत्तिएजस्ता देखिन्थे । सुटिङ रोकिना साथ छाता र छहारीको सहारा लिनुको विकल्प हुँदैन थियो । पसिनाले मेकअप पुछिएर थप समस्या भएको थियो । नाच्ने पालो आउनसाथ मेकअप गर्दै क्यामेराको फेस गर्नुपरेको थियो ।

‘गर्मी भए पनि सुन्दर वातावरणले मन लोभिएको छ,’ छोटो पहिरनमा सजिएकी नायिका आँचलले भनिन्, ‘पहिलोपटक फिल्ममा अभिनय गरेको हो, वरिपरिको रमणीय वातावरणले मन प्रफुल्लित बनाएको छ ।’ उनले अघिपछि अभिनयका बारेमा धेरै थाहा नपाए पनि अहिले धेरै जान्ने अवसर पाएको बताइन् ।

उता पउल पनि दंग देखिन्थे । करिब १ सय ५० म्युजिक भिडियोमा खेलेको दाबी गर्ने उनको यो पहिलो ठूलो पर्दाको फिल्म हो । ‘म्युजिक भिडियो र फिल्ममा फरक छ,’ उनले भने, ‘ठूलो पर्दामा अभिनयको नयाँ अनुभव लिँदै छु ।’

उता, ६० भन्दा बढी म्युजिक भिडियोमा खेलेको बताउने वर्षा राउत पनि यही फिल्मबाट नायिकाको रूपमा डेब्यु गर्दै छिन् । ‘म्युजिक भिडियोमा डाइलग हुँदैन,’ उनले भनिन्, ‘सुरुमा अभिनयमा अप्ठ्यारो लागेपनि पछि सहज भयो । पहिला फिल्म खेल्न घरबाट स्वीकृति थिएन । ब्याचलरको परीक्षा पनि सकियो, त्यही मौकामा फिल्मको कथा राम्रो लागेर अभिनय गरेको हो ।’ उनी भने इन्दिराले नै गाएको ‘तिम्ले मलाई माग्ने बनायौ..’ गीतमा नृत्य गर्न ज्ञानेश्वर सामुदायिक वन परिसरमै थिइन् ।

फिल्ममा संवादको केही अंश छायांकन गर्न बाँकी राखी गीतको छायांकन सुरु गरिएको हो । उक्त फिल्ममा पाँच गीत छन् । ५५ प्रतिशत छायांकन चितवनका सौराहा, नारायणी किनार, देवघाट, रामनगर, देवघाट, शिवघाटमा गरिएको हो ।
‘फिल्मका लागि पृथक लोकेसन चाहिएको थियो, जुन चितवनमा पाइयो,’ निर्देशक आचार्यले भने, ‘यहाँँ गर्ने छायांकन ८८ प्रतिशत सकियो ।’

फिल्ममा तीन नयाँ कलाकारका अलावा नायक सरोज खनाल, नायिका प्रियंका कार्की, उत्तम केसी, अनुभव रेग्मी, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ लगायतले पनि खेलेका छन् ।

‘‘नाइँ नभन्नू ल’ एउटा आग्रह हो, प्रत्येक फिल्ममा बेग्लाबेग्लै ढंगमा कथाअनुसार पात्रलाई प्रस्तुत गरिएको छ,’ आचार्यले भने, ‘यो फिल्ममा हाँसो, रोदनसँगै सम्पूर्ण नेपालीका लागि उपयुक्त हुने कथा छ ।’

उनका अनुसार, चितवन र काठमाडौंमा मात्र यो फिल्मको छायांकन गरिनेछ ।

७० फिल्मको कथा लेखिसकेका आचार्यले निर्देशन गरेको यो छैटौं फिल्म हो । चैत २६ देखि प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको फिल्ममा संगीत वसन्त सापकोटाको छ भने द्वन्द्व निर्देशनको काम हिमाल केसीले गरेका छन् । पारिवारिक प्रेमकथा रहेको फिल्मको छायांकन भने पुरुषोत्तम प्रधानले गरेका हुन् ।

‘चितवन प्राकृतिक रूपमा धनी छ,’ आचार्यले भने, ‘यो क्षेत्रलाई फिल्म सुटिङको रूपमा पनि विकास गर्न सकिए जिल्लाको अर्को परिचय थपिने थियो ।’ कान्तिपुर प्रकाशित: आश्विन १४, २०७२